अनुभूति
२०३९ पौष १३ गतेको त्यो डाँडालाई हुस्सुले छपक्कै छोपेको थियो । एकछिनमा हुस्सू पनि तितरवितर भयो । फेरि पारिलो घाम लाग्यो । कुहिरो र घामको लुकामारी बिच हामी कक्षाकोठामा पस्दै, पढ्दै, निस्कँदै ग¥यौँ । एक बजेको घन्टी लाग्यो, खुर्र डाँडामा निस्किन मन लाग्यो । चुचुरोबाट वरिपरि हे¥यौँ । पूर्वपट्टि हिउँको खास्टो ओडी सभापोखरी काखमा राखेर मुस्कुराई रहेको जलजलेको पहाड देखियो । पश्चिमपट्टि साल्पापोखरी काँधमा राखेर छिर्केमिर्के हिउँको बर्को ओडेर अग्लिएको साल्पाको शिखर नजर भयो । उत्तरपट्टि फर्केर हेर्दा बरुण पोखरी र दुधपोखरीका दुई अमृत धारा बहने स्तन चुसाउँदै अरुण उपतयकालाई काखमा राखेर चाँदीको बस्त्राभूषणले छपक्क छोपिएर अभिनन्दित विश्वको पाँचौँ उच्च शिखर मकालु झलमलायो । दक्षिणतिर निलो आकाशमुनि २८ प्रजातिको गुराँस फुल्ने तिनजुरे, मिल्के हरियो पहाड सौन्दर्य पोखेर तेर्सियो । तल सलल बगेको अरुण नदी र काखमा तुम्लिंगटार विमानस्थल । आहा यति धेरै हिमाल देखिने ठाउँमा स्थापित भएकोले पो यो स्कूलको नाम हिमालय मावि राखिएको होला । म हिमालय माबिको कक्षा ८ मा भर्ना भएर खाँदबारी कोटगाउँको यो चुचुरोमा म पहिलो पाइला टेक्दै थिएँ ।
टिफिन पछाडि सोमनाथ घिमिरे सर कक्षामा छिर्नुभयो । उहाँको नेपाली बिषय अध्यापन गर्ने शैलीले त मलाई चुचुरोबाट देखिने दृश्यलाई चित्रमय बनाएर प्रस्तुत गर्न सक्ने बनायो । छैटौँ घन्टी खड्गबहादुर चापागाइँको थियो । उहाँले त्यो दिन इतिहास पढाउनु भयो र भोलिपल्टै वाना मावि सरुवा हुनुभयो । हाम्रो पहिलो दिन नै उहँको अन्तिम दिन रहेछ, उहाँको आँखामा आँसु आउला झैँ देखिएको थियो । सातौँ घन्टीमा धर्मबहादुर श्रेष्ठ सरले नागरिक शास्त्र सिकाउनु भयो । पहिलो घन्टी भूपमणि निरौला सरको अंग्रेजीबाट हाँजिरी शुरु भयो । दोश्रो घन्टी हरिबहादुर श्रेष्ठ सरको गणित, तेश्रो घन्टी अजय कुमार सिँहको विज्ञान पढाइ भयो । चौथो घन्टी कसले लिनुभयो सम्झनामा आएन । जागदीश्वर श्रेष्ठ, विश्वकुमार बज्रचार्य, मोहन गौली, पछि निलमणि पन्त सरहरु हामी पढ्दा हिमालय माविमा हुनुहुन्थ्यो । मोहन सरको हँसाएर अर्थशास्त्र पढाउने कला, विश्व सरको अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै कार्यालय सन्चालन र लेखा सिकाउने सिप, जगदीश्वर सरको बुँदा घोकाएर कन्ठ पार्न लगाउँदै लेखा परीक्षण सिकाउने तरिका गज्जब लाग्थे । आजको बालमैत्री सिकाइ अवधारणामा भने एउटै शिक्षकमा यी तिनओटै सिप, कला र तरिका आवश्यक पर्दछ ।
माघ २० गते एक महिनापछि हेडसर खाँदबारी आउनुभएको छ, भन्ने समाचार कक्षामा सन्सनी फैलियो । कक्षामा हाहो गर्ने ठूला केटाहरु पनि बिहानैदेखि सास रोकेर बसेका देखिन्थे । चकमन्न थियो वातावरण । एउटा अज्ञात मौनता । दोश्रो घन्टी पढाइ सकिएपछि पारिलो घाम हेर्न बाहिर निस्केका मात्र थियौँ । एक्कासी हेडसर हेडसर भनेर ढोकाबाट अट्टाइ नअट्टाई केटाकेटी पसे । म चाहिँ कता हो भनेर पल्याक्पुलुक गर्न थालेँ । मैदानको पूर्वपट्टिको भागमा खैरो कमेज सुरुवाल लगाएको पाको मान्छे र एउटा सेतो टीसर्ट र जिन्सको पाइन्ट लगाएको अग्लो, मस्त, झ्याप्प दारी पालेको, चौडा निधार भएको मान्छे देखेँ । हामीतिर उनीहरुले हेरेका थिएनन् । चम्पट खोलेर कक्षाभित्र छिरेँ । पछि जान्दै गए पछि थाहा भयो, ढाका टोपी र खैरो कमेज सुरुवालमा उभिएका ती मान्छे खाँदबारीका समाजसेवी ,राजनीतिज्ञ, कविका त्रिआयामिक ब्यक्तित्व कृष्णगोपाल श्रेष्ठ रहेछन् । उनी त्यतिबेला विद्यालय सञ्चालक समितिका अध्यक्ष भएकाले लामो विदापछि हेडसर आउँदा सँगसँगै आएका रहेछन् । उनीसँग उभिएको त्यो दारीवाल ह्यान्डसम युवा चाहिँ हाम्रो हेडसर जंगबहादुर प्रसाद ठाकुर हुनुहुँदो रहेछ । पछि दारीजुँगा सिनिक्क सेभ गर्नुभयो तर म भने त्यही दारीवाल तन्नेरी देख्थे उहाँको अनुहारमा । गज्जब के भने, प्रधानाध्यापक जंगबहादुर प्रसाद ठाकुरलाई भने एक महिनापछि मात्र देख्न पायौँ । पहिलो प्रभाव नै अन्तिम प्रभाव भनेको यही होला ।
कक्षा ९ मा पढ्दा अन्तिमतिर घनघश्याको उकालो शीर्षकको डा. ताना शर्माको निबन्ध पढ्नुपर्थ्यो । सोमनाथ सरले यसको समीक्षा लेखाइदिनु भयो । टीका एकांकीको पाठ पढाउँदा दश लोटा पानी अटाएको गाग्रोमा एकमुठी बढी कसो नअटाउला भनेर मुख आँ गर्नु भएको थियो । एउटा भुसुना उहाँको मुखमा पस्यो । ख्वाक् ख्वाक् गरेर दुइचोटी खोक्नुभयो । मुखमा के पस्यो म निस्केँ भनेर चक डस्टर लिएर बाहिरिनु भएको सोमनाथ सर उपचारको लागि भ्यल्लोर पुग्नुभो भन्ने सुनियो । अनि उहाँको अवसानको खबर आयो । मधुपर्कजस्तो नेपाली पढाउने सर त्यसपछि हामी पढुञ्जेल कोही आएन । उहाँकी छोरी शोभा दिदी १० पास भइसक्नु भएको थियो भने उहाँको एक छोरा सोहनकुमार घिमिरे हाम्रो कक्षाको फस्ट ब्वाइ थिए । हामी एउटै बेञ्चमा बस्थ्यौँ । अल्पायुमै भएको उहाँको बैकुण्ठ गमनले सोहनसँगै हाम्रो बेन्च, कक्षा र बिद्यालयलाई टुहुरो बनाएको थियो ।
हाम्रो बेन्चमा म, अमृतबहादुर राई, सोहन घिमिरे, अश्मिन बज्राचार्य, कुलप्रसाद खनाल र निर्मलसुन्दर श्रेष्ठ बस्थ्यौँ । पछिल्लोमा मुकेश कुमार, सरोजकुमार श्रेष्ठ, नारयण श्रेष्ठ, दामोदर चापागाई, बाबुराम खनाल, हेमराज पाण्डे थिए । सहपाठीहरुमा नीलमणि खनाल, युवराज खत्री, भवानी खरेल, गुणराज खत्री, बालकृष्ण कटुवाल, भोलामान कटुवाल, किरणकुमार शाक्य, टीकाराम पुरी, ढाकाबहादुर खड्का, डिकबहादुर गुरुंग, टेकराज कटुवाल, योगेन्द्र पराजुली, रमेश अधिकारी, पार्वती अधिकारी, अमरबहादुर कार्की, बिमल बिश्वकर्मा, तिलबहादुर कार्की, भूपाल कार्की, दिनेश कटुवाल, केदार चौहान, रुद्रबहादर बुढाथोकी चेवा, रुद्रबहादुर बुढाथोकी गुवाबारी, मुकुन्दप्रसाद राई, हिरण्य राई, रिता शाक्य, भावा उदास, सबिता गौली, केशकुमारी खत्री, भूमादेवी पाण्डे, तारा पराजुली, उमा घिमिरे, नारायण गुरुंग, पिम्बा भोटे, लक्ष्मीप्रकास गुरुंग, तोया कालाखेती, डिल्ली अधिकारी, हेमसागर बाह्रकोटी, सोमनाथ बाह्रकोटी, दुर्गा बाह्रकोटी, सिताराम बाह्रकोटी, बाबुराम दाहाल, मित्रराज राउत, प्रभृत्ति सहपाठी थियौँ । हामीले २०४२ सालमा प्रबेशिका परीक्षा दियौँ । सबैलाई सम्झन सकिन ।
कक्षा एकमा नाम लेखेर दशसम्म एउटै बेञ्चमा बसी सँगै एसएलसी गर्ने अमृतबहादुर राई आज संयुक्त राष्ट्र संघको लागि नेपालको स्थायी प्रतिनिधि छन् । नेपालका परराष्ट मन्त्रलायका सहसचिव पदमा बहाल उनी नै हाम्रा सहपाठी मध्ये सर्वोच्च स्थानमा छन् । अब तुरुन्तै उनको परराष्टको सचिव वा राष्टसंघको उपमहासचिव हुने संभावना छ । डा. सोहनकुमार घिमिरेले अभियन्ता शास्त्रमा पिएचडी गरेर हाल अमेरिकामा छन् । टीकाराम पुरी प्याप्सनका केन्द्रीय अध्यक्ष छन् । रमेश अधिकारी चर्चित गीतकार , भवानी खरेल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष , किरण शाक्य उपप्राध्यापक छन् । दर्जनौँ नेपाल सरकारका उपसचिव र तीन दर्जन दर्जन शिक्षक छौँ, वैदेशिक रोजगारी, सेना, प्रहरी, निजामति, शिक्षण, कृषि, ब्यापार, पत्रकारिता जो जहाँ छौँ । हाम्रा सहपाठीहरु स्थापित भएर सामाजिक जीवनमा योगदान गरिरहेकै छौँ । हिमालय माविको २०४२ को एसएलसी ब्याच आजसम्म भ्रष्टाचारमा मुछिएको, पुलिस हिरासत र कारागारमा परेको समाचार आएको छैन । हिमालय माविको गौरवमय परम्परा थामेको छ ।
हुन्थ्यो, अनेरास्ववियुका गतिबिधि हुन्थ्यो । कहिलेकाही प्रहरी आएर धरपकड गर्थे । पक्राउ खानेहरुमा सिनियर ब्याचका सचिन्द्र श्रेष्ठ, हेमराज पन्त र शोभा घिमिरे दाजुदिदीहरुको नाम याद छ । कहिलेकाहीँ हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भन्दै धुलो उडाएर प्रजातन्त्र दिवस, राजारानीको जन्मोत्सव मनाइन्थे । जुलुस, प्रहरीको कासन, सलामी र नेताहरुको भाषण हेर्नलायक हुन्थे । कहिले हाँजिरीजवाफ, कहिले नाचगान पनि हुन्थे । जुरेसको चुनाव राष्ट्रिय पञ्चायत सदस्यको भन्दा खरो हुन्थ्यो । अतिरिक्त क्रियाकलापको गतिबिधि अन्तर्गत सालघारीका काठ र अरुणका बालुवा स्कूलमा ओसार्न पनि जान्थ्यौँ विद्यार्थीहरु । बीरेन्द्रशील्ड खेलकुदमा चैनपुर र खाँदबारीको भलिबल खेल अहिलेको बिश्वकप फुटबल जत्तिकै रोचक । यिनै गतिबिधिले त हामीलाई आजसम्म राष्ट्रिय जीवनमा जीउन योग्य बनायो । दर्जनौ मन्त्रालयका सचिवहरु छन् हिम्भाका सदस्य, मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अख्तियार प्रमुख प्रेमकुमार राई हिमाविका गौरव हुन् । हिम्भा जहाँ जान्छ त्यहाँ जितेर आउँछ, हारेर होइन । पिठ फर्काएर भाग्न हिमालय माविले कहिल्यै कसैलाई सिकाएन, सिकाउँदैन ।
म २०६०को बैशाख २ गतेदेखि हिमालय माबिमा माध्यमिक शिक्षकका रुपमा अध्यापनरत छु । आज माध्यमिक तहको वरिष्ठतम् शिक्षकका रुपमा यहीँ शिक्षण गर्न पाउँदा आमाको दुध धाराको भारा तिरेको अनुभुति भएको छ । १८ बर्ष हिमाबि मै पठनपाठन गरेपछि थाहा भएको छ कि हिमाल देखिने भएर हाम्रो स्कूलको नाम हिमालय मावि राखिएको हैन रहेछ । २००९ सालमा चापाबोटेमा हिमालय मिडिल स्कुल बनाउँदै गर्दा पण्डित भिमप्रसाद कट्टेलले माईला सरकार हिमालय समसेरको नामबाट स्कुल खोलेका रहेछन् । उतिबेला त्यसो गर्दा सहयोग रकम पाइन्थ्यो । पछि कोटगाउँ सारेको वर्तमान हिमालय माबिको प्राकृतिक टावरबाट ती दृश्यहरु आज पनि उत्तिकै मनमोहक देख्न पाइन्छ ।