हिमालय माध्यमिक बिद्यालय र मेरो बाल्यकाल: केही संस्मरण
बिद्यार्थी जीवनका सुखद एवं दुखद अनुभवहरु सवैका हुन्छन नै। त्यसमध्ये पनि केही त यति रोचक पनि हुन्छन कि अहिले आएर सुन्दा सुनाउदा केही रमाईला मात्र एवं केही शिक्षाप्रद पनि हुनसक्दछन। यस्ता प्रशस्त अनुभवहरु मेरो बाल्यकाल शिक्षासँग पनि जोषिएका छन जसमध्ये दुईवाट प्रसङ्ग हाल प्रस्तुत गर्न चाहन्छु।
- कक्षा २ पास भएर कक्षा १ मा भर्ना हुँदाः
सुन्दा अनौठो लागेपनि मेरो शुरुआती शिक्षाका केही घटना रमाईला छन। घरबाट करिब १५ मीनट नजिकैको श्री हिमालय हाई स्कूल (तत्कालिन राधाकृष्ण आधार स्कूल जहाँ मेरा पिताजी स्व. परशुराम निरौलाको समेत अथक योगदान छ, मा भर्ना नभई एक घण्टा जति टाढाको श्री महेन्द्र प्राइमरी स्कूल मानेभञ्ज्याङ्गमा प्रथम पटक भर्ना भएको हुँ, किनकी त्यहाँ मेरा काका श्री टंकप्रसाद निरौला प्रधानाध्यापक हुनुहुन्थ्यो। शुरुमा कक्षा २ मा भर्ना भई पुरा एक शैक्षिक सत्र अध्ययन गरेपछि उक्त कक्षा पास (?) भएर कक्षा एकमा अध्ययन गर्न घर नजिकैको बिद्यालयमा आएँ। पास भएर किन भन्न मन लागेको भने एक बर्षसम्म अध्ययन पश्चात लिईने बार्षिक परीक्षा पश्चात मात्र मलाई केही समय कक्षा १ मा राख्ने निर्णय भएको रहेछ। होमवर्क नगरे बापत बर्षैभरी सजाय पाईरहेपनि बार्षिक परीक्षामा फेलै भएको चाही मैले थाहै पाईंन।
वास्तविकता के रहेछ भने म आफुले बोकेर लगेको “ठूलो बर्णमाला” सरर पढ्न सक्दथें। यतिसम्म कि १२ राशी २७ नक्षत्रका नाम जस्ता कुराहरु पनि पुस्तकमा लेखिए बमोजिम पढी उपयुक्त समयमा थुक लगाई लगाई पाना पल्टाउन पनि जान्दथें। यही सामान्य परीक्षणका आधारमा त्यसबेलाका शिक्षक श्री दुर्गा पराजुलीले कक्षा २ मा भर्ना गरिदिनु भयो। स्वभाबिकै थियो मैले पनि उक्त कक्षामा एक शैक्षिक सत्र अध्ययन गरें। एक बर्षपछिको बार्षिक परीक्षामा पास (?) भएर कक्षा १ मा जानुकोबिडम्बना के रह्यो भने मैले बाह्रखरीको त कुरै छाडौं, “क” देखि “ज्ञ” सम्म चिनेकै रहेनछु। हिमालय मा बि खाँदबारी (तत्कालीन राधाकृष्ण प्रा. स्कूल) मा कक्षा १ मा भर्ना भइ उक्त कक्षा पास गरेपछि भने कक्षा ३ मा अध्ययन गर्न पाईयो। यसरी भन्दा मैले कक्षा २ पास गरेर १ मा चढेको सार्थकै भएको मानेको छु। फरक कतिमात्र भने अरुले कक्षा १ बाट शुरु गरे मैले २ बाट। यसरीकक्षा २ लाई मिलाएर बुझ्दा मैले हिमालय माध्यमिक बिद्यालयमा कक्षा १ देखि १० सम्मै अध्ययन गरेकोहुँ भन्न मिल्छ होला।
- सबै जानेको मध्ये तोकिएको थोरै छुट्याउन नसक्दाः
परिस्थिति पनि कस्तो, एउटा शिक्षकले हरेक बिषय जान्नै पर्ने। मलाई सम्म गणित र सामाजिक\ईतिहास अध्यापन गराउनु भएका भूपमणि सरले हामीभन्दा पछिल्लो पुस्तातीर अंग्रेजी बिषय अध्यापन गर्नु भएको हो। वहाँले शिक्षण गरेका बिषयवस्तुलाई गद्यमा ढालेर कबितात्मक रुप दिने खुबीका कारण वहाँ लोकप्रीय हुनु त छदै थियो, बिषयबस्तु अध्ययन र स्मरणलाई सरल पनि बनाईदिन्थ्यो। मलाई अहिले सम्म पनि त्यसबेलाका अध्ययनका कतिपय बिषयवस्तु ताजा छन।
यस प्रसंगको एउटा रोचक सन्दर्भ सुनाईहालौं। म कक्षा ४ मा अध्ययनरत हुँदा हामीलाई संयुक्त राष्ट्र संघका १०० वटा सदस्य राष्ट्रहरुको नाम कबितात्मक लयमा लेखाइएको थियो। भूपमणि सरबाट हो वा अरु कुनै सरबाट याद भएन। स्वभाबिकै थियो मैले पनि कण्ठ पारें। म अहिले पनि त्यसैगरी फरर भन्न सक्छु। तर रमाईलो कुरा के रह्यो भने कक्षा ४ को बार्षिक परीक्षामा “संयुक्त राष्ट्र संघका ६० वटा सदस्य राष्ट्रको नाम लेख” भन्ने पनि एउटा प्रश्न थियो, जुन मेरा लागि निक्कै कठीन थियो। प्रश्नको उत्तर नजानेर होईन बरु सयवटा नाममात्र भन्न जानेको मान्छेले साठीवटा कसरी लेख्ने भनेर। त्यसबखत इन्भिजिलेटरको रुपमा कोठामा रहनुभएका शिक्षक श्री लालानाथ धिमिरे सँग सोधेथें “सर साठीवटा भनेकोमा सयवटा लेख्दा के हुन्छ?”। वहाँले हाँस्दै उत्तर दिनु भएको थियो “भ्याउँछस भने लेख”। बल्ल मलाई ढुक्क भयो। भ्याएँ, सबै लेखें पनि। बास्तवमा समस्या कहँनीर थियो भने कबितात्मक बिषयबस्तु भएकोले अनुप्रास मिलाउन जोडिने “औ”, “अनि” तथा सन्धि भएर बन्ने नयाँ शब्द “राष्ट्र” हो कि शब्दमात्र हो त्यसबेला छुट्याउने हैसियत म मा थिएन। उदाहरणार्थ “अफगानिस्तान औ अल्बानिया अल्जेरिया अनि, क्यामरुन र क्यानडा अर्जेन्टिना र अष्ट्रिया, अष्ट्रेलिया अनि लंका चिली र मध्य अफ्रिका, चाड कोलम्बिया कङ्गो क्युवा कोष्टारिका अनि, … … भेनेज्वेला र जाम्बिया नेपाल शान्ति साधन…।“ यहाँ घोके अनुसार चाडको यौटा लम्बिया अर्को, शान्ति अर्को र साधन अर्को देशको रुपमा हुनसक्ने जस्ता थुप्रै अलमल त्यसबेलाको कच्चा दिमागमा थियो। घोकाउने कार्य राम्रो होइन भनि यसको बिरुध्दमै वकालत गर्ने प्रोफेसनमा पछि गएर आफु स्वयं संलग्न भएपनि बोझको रुपमा नभई मनोरञ्जनपूर्ण र सार्थक घोकाईले पनि बेफाइदा नै गर्ने चाहीं होईन भन्ने निष्कर्षमा आफु पुगेको छु।