सम्झनामा दल बहादुर दाई
भूधरा उपाध्याय
कुरा चालिस सालतिरको हो , त्यतिबेला हिमालय माध्यमिक विद्यालय संखुवासभा जिल्लाकै उत्कृष्ट विद्यालय मानिन्थ्यो । पढाइमा मात्र नभएर अतिरिक्त कृयाकलापमा समेत सधैँ अग्र स्थानमा रहन्थो । खाँदबारी बजार (पोखरी) बाट उत्तरतर्फ दश / पन्ध्र मिनेट उकालो हिँडेपछि विद्यालय पुगिन्थ्यो । त्यस समयमा सात कक्षासम्मलाई निम्न माध्यमिक र आठदेखि दशसम्मलाई माध्यमिक विद्यालय भनिन्थ्यो । हाम्रो घरबाट उकालो लाग्दा पहिली निम्न माध्यमिक विद्यालय आउँथ्यो । मूल सडकबाट देब्रे लागेर तीन कान्लाजति उकालो चढेपछि निम्न माध्यमिक विद्यालय पुगिन्थ्यो तर त्यहाँ देब्रे नलागी मूल सडकबाट अरु दुई मिनेट जति अघि बढेपछि फेरि देब्रे मोडिँदा माध्यमिक विद्यालय पुगिन्थ्यो । त्यस समयमा माध्यमिक विद्यालयतिर सिधै जान पाउँदा आफूलाई खूव ठूलो कक्षामा पढ्न पुगेँ भन्ने लाग्थ्यो ।
विद्यालय सानो सानो डाँडा मै थियो तर विद्यालयको पश्चिमी भेगबाट हेर्दा भने ठूलो डाँडा को टुप्पोमा अवस्थित थियो । दुई विद्यालय ( निम्न र माध्यमिक ) का बीचमा एउटा डाँडो थियो । त्यो डाँडोको टाकुरालाई सम्याएर खेल्ने मैदान बनाइएको थियो । अरु खेल त सजिलै खेल्न सकिन्थ्यो तर भलिवल र फुटवल खेल्न मिल्दैनथ्यो । यदि खेलिहालियो भने वल हातबाट फुत्किनासाथ निकै तल पुग्थ्यो । खोज्न जाँदा र फर्केर आउँदा खेल्ने समय सक्किसकेको हुन्थ्यो । यो डाडाँबाट दक्षिण तर्फ हेर्दा खाँदबारी बजार , प्रहरी कार्यालय र अझ परपर हेर्दा विमानस्थल, फालिकोट, नागवेली आकारमा लुक्दै र देखिदै बगेको अरुण नदी साच्चिकै रमणीय देखिन्थ्यो । पश्चिमी भेगमा अर्चले, पिप्ले र खोरण्डेका केही भाग तथा दिङ्ला आदि देखिन्थे । उत्तरतर्फ चेवा, कुलुङ र मकालु हिमाल पूर्व तर्फ जोगीडाँडा , तल्लो पाङ्ठा धुपु र घिमिरे गाउँ देखिन्थ्यो। कहिले काँही यो डाँडोमा हेलिकप्टर पनि बस्ने गर्थ्यो । हस्याङ्फस्याङ् गर्दै उकालो चडेर हेलिकप्टरलाई नजिकबाट निहार्न साह्रै रमाइलो लाग्थ्यो । टुम्लिङटारको माथि प्लेन उडेको हेर्न बानी परेका हाम्रा आँखा त्यो हेलिकप्टरलाई हेरेर कहिले पनि अघाउदैनथे । बसेदेखि नउडुन्जेल छेउमा भएको साथीसँग कुरा गर्दै आँखै नझिम्क्याइ एकटकले हेरिरहन्थौँ । हेलिकप्टर उड्दा त्यसका पखेटाले छेउछाउमा उभिएका मान्छे पनि उडाउँछ भन्थे । मान्छे उडाएको कहिल्यै देखिएन तर केटीहरुको फ्रक र केटाहरुको टोपी उडाएको चाहिँ धेरै पटक देखियो । पढाइ तथा अतिरिक्त कृयाकलाप र भौगोलिक दृष्टिले समेत अब्बल रहेको यस विद्यालयमा अध्ययन गर्न पाउँदा आफूलाई निकै गौरववान्वित महसुस हुन्थ्यो । गाउँ गाउँबाट सात कक्षा पास गरेपछि आठ कक्षामा भर्ना हुन धेरै साथीहरु आउनु हुन्थ्यो । आठ कक्षामा भर्ना भएपछि दुई चार दिन नयाँ साथीहरुसँग परिचयको कार्यक्रम हुन्थ्यो ।
त्यस समयमा प्रधानाध्यापक जंग बहादुर प्रसाद ठाकुर हुनुहुन्थ्यो । आठ कक्षामा नयाँ साथीसँग परिचय गराउँदा उहाँले भन्नु भएको थियो -” अब तिमीहरु ठूलो कक्षामा पुगिसक्यौ । साथीहरुलाई तँ, तिमी भनेर सम्बोधन गर्नु हुन्न । आजैदेखि तिमीहरु एक अर्कालाई तपाई भन्ने बानी बसाल ।” त्यही दिनदेखि मैले पनि साथीहरुलाई तपाई भन्न थालेकी हुँ । कक्षा नौमा पढ्दाको एकजना साथीको मलाई अहिले पनि खूव याद आउँछ । त्यसबेला हाम्रो कक्षामा दुईवटा सेक्सन थिए । अलि राम्रो पढ्ने विद्यार्थीहरु ए सेक्सनमा पर्थे बाँकी बीमा । हामी ए सेक्सनमा थियौँ । हाम्रो कक्षामा एक जना साथी हामीहरुभन्दा केही ठूलो हुनुहुन्थ्यो । उहाँको नाम दल बहादुर तामाङ हो । उहाँलाई हामी दल बहादुर दाई भनेर सम्बोधन गर्थ्यौँ । सबैका दाई दल बहादुर बाह्रबिसेको खालिङबाट पढ्न आउनु भएको थियो । उहाँ हसिलो स्वभावको हुनुहुन्थ्यो । कसैलाई चित्त दुखाउने वा बिझाउने कुरा कहिल्यै गरेको थाहा छैन । सबैसँग राम्ररी बोल्नु हुन्थ्यो । उहाँ साह्रै मिठो गीत गाउनु हुन्थ्यो । शिक्षक कक्षामा आउन अलि ढिलो भयो भने हामी उहाँलाई गीत गाउन अनुरोध गर्थ्यौँ । उहाँ पनि गाउन थालिहाल्नु हुन्थ्यो । हामी पुरा आनन्द लिन्थ्यौँ । टिफिन समयमा होस् वा खाली पिरियडमा होस् जुसुकै बेला पनि हामी गीतको फर्माइस गर्थ्यौँ उहाँ गाउन थाली हाल्नुहुन्थ्यो । नौ कक्षाबाट पास भएर दसमा जाँदा उहाँ बी सेक्सनमा पर्नु भयो । कहिले काँही टिफिनमा उहाँको कक्षामा गएर पनि गीत सुन्थ्यौँ । यस्तै क्रममा दश कक्षा बित्न लागेको थियो । एस एल सी नजिक आउन लागेको थियो । फलामे ढोकाबाट छिर्न गाह्रो हुन्छ भनेर सबैले भन्नु हुन्थ्यो । हामी पढाइमा व्यस्त भयौँ । एस एल सी सकिएको तेस्रो दिन घटेको घटनाले हाम्रो घरमा रुवाबासी मच्चायो । दल बहादुर तामाङ र मेरी सोल्टिनी गीता दाहाल एउटै सेक्सनमा पढ्नुहुन्थ्यो । उहाँहरुले भागी विवाह गर्नु भयो ।
हामीले थाहा पाउँदा सबैतिर हल्ला फैलिसकेको थियो । तामाङको छोरो र बाहुनकी छोरीको विहे त्यसबेलाको समाजले के पचाउथ्यो र ? खाँदबारीभरि सन्सनीपूर्ण खबर बन्यो । छेउमा हुँदा च्वँ च्वँ गर्नेहरुले नै पछाडि बाह्र सत्ताइस कुरा गरेको थाहा पाइयो तर के गर्ने ? उपाय केही थिएन । केही दिन आफन्त र छरछिमेकीले कुरा काट्ने राम्रो मौका पाए । समय बलवान हुँदो रहेछ । समयले नै सबै कुरा सिकाउँदो रहेछ । दल बहादुर दाईको मिलनसार र हसिलो स्वभावका कारण हाम्रो बाहुन समाजले उहाँलाई बिस्तारै बिस्तारै स्वीकार्न थाल्यो । उहाँ हाम्रो परिवारमा पहिली कै जस्तो सामान्य बन्नु भयो । फरक यति थियो कि पहिली मेरो कक्षाको साथीको रुपमा चिनिनु हुन्थ्यो भने अहिले ज्वाईको रुपमा हेरिन थाल्नुभयो । उहाँको प्रसंशामा भन्न थालियो कि धनी घरको एउटै छोरो , मनकारी बुबाआमा, तामाङ भए पनि घरमा सुँगुर नखाने आदि इत्यादि । प्रशंशा त धेरै सुनियो तर उहाँको गीत भने स्कुलमा बाहेक फेरि सुन्न पाइएन । कुरो यति मै टुंगिएन । बिहेपछि गीता दाहाल तामाङ मात्र हुनुभएन एक कुसल अनमी भएर गाउँ कै स्वास्थ्य चौकीमा सेवा गर्न थाल्नुभयो । दल बहादुर दाईले प्रहरीमा हबल्दारको पद सम्हाल्नुभयो ।
उहाँहरुको एक छोरा र एक छोरी पनि भए । प्रहरीको जागिर जता सरुवा हुन्छ त्यतै जानु पर्ने बाध्यतामा दल बहादुर दाई बेनीमा खटिनु भयो । माओबादी आन्दोलन ले चरम रुप लिएको थियो । जनयुद्ध भन्दै जनतालाई दु:ख दिनु र मार्नु सामान्य घटनाजस्तै बनेको थियो । जताततै डरै डरले साम्राज्य जमाएको थियो । शेना र प्रहरीले आफ्नो ज्यान हत्केलामा राखेर कार्य गर्नु पर्थ्यो । सोही समयमा दल बहादुर दाईको जीवनमा ठूलो चट्याङ् बज्रियो । गीताले आफू काम गर्ने स्वास्थ्य चौकी कै साहायक जङ्ग बहादुर विश्वकर्मासँग बिहे गरिन् । जागिरमा ज्यानको त्रास त थियो नै तर त्योभन्दा पनि ठूलो कुरा समाजमा इज्जत , हृदय चोट र परिवारको विखण्डनलाई जोगाउन दल बहादुर दाई घर आउनु भयो । हाम्रो इतिहासमा जार काट्ने चलन रहेको धेरै पढिएको र बुढापाकाबाट पनि धेरै सुनिएको हो तर यहाँ देख्न नै पो पाइन्छ कि भनेर गाउँलेहरु कुरा गर्थे । दल बहादुर दाई घर आएपछि साँच्चिकै जारलाई भेट्न जाने कुरो गर्नु भएछ । अब अनर्थ हुने भयो गाउँलेको यस्तै सोचाइ थियो तर आश्चर्य भयो, दल बहादुर दाईले जारलाई भेटेर सुन र केही रकम दिदैँ भन्नुभएछ -” यो बाहुनकी छोरीको मलाई पाप नलागोस् । उनलाई मैलेभन्दा पनि धेरै माया गर्नू ।” केही समयपछि दाईको परिवारले आफ्नै जातकी केटी विहेको लागि ठिक पार्नु भएछ । दाईले विहे गर्दिन भनेर लाख बिन्ती गर्नुभएछ । घरको एउटै छोरो त्यो पनि परिवार बिग्रेको कस्ले पो उहाँको कुरो सुन्ने र ? विहेको तयारी पूरा भएछ । दाई बेहुलो बनेर जाँदा खूव रुनु भयो रे । विहे गर्नासाथ केही दिनमा नै उहाँ आफ्नो जागिरमा फर्किनु भयो ।
२०६० साल चैत्र महिनामा माओवादीद्वारा बेनीमा आक्रमण गर्यो । पूर्व तयारीबिना एकाएक भिडन्तमा उत्रिनु परेका सुरक्षाकर्मीहरु चैत्र ७ गते राती १० बजेदेखि ८ गते दिउँसो ३ बजेसम्म लडेका थिए । १७ जना प्रहरी मारिएका थिए जसमध्ये एक दल बहादुर दाई पनि हुनुहुन्थ्यो । एक रात र एक दिनभरि चलेको यस भिडन्तमा दल बहादुर दाईको शरीर माओवादीको गोलीले चाल्नुजस्तो भएको थियो रे । शरीरमा कति गोली लाग्यो भनेर गन्न सक्ने अवस्था थिएन रे । त्यस भिडन्तमा राष्ट्रको, शेनाको , प्रहरीको, प्रशासनको , माओवादीको, सर्वसाधारणको के कति नोक्सान भयो भनेर हिसावकिताव निकालियो तर आमाबाबुको एउटा छोरो, दिदी बहिनीको एउटै भाइ, आमाले अर्कैसँग बिहे गरेर टुहुरा भएका छोराछोरीको बुबा , भर्खर विहे गरेकी नव दुलहीको पति दल बहादुर दाईको परिवारले वाहेक कसैले उहाँको बारेमा कुनै हिसाव निकालेन । यस परिवारमाथि परेको जस्तो बज्रपात अरु कसैलाई पनि नपरोस् । दल बहादुर दाई तपाईको आत्माको चीर शान्तिको कामना !