अनुभव
कुरा त्यस्तै २०४१ सालतिरको होला । जतिबेला म दस कक्षामा अध्ययनरत थिए । उबेला अहिले भन्दा धेरै लैङ्गिक विभेद थियो होला सायद । अर्को कुरा गाउँको परिवेश पनि हुनसक्छ । अहिलेको जस्तो संचारको विकास पनि थिएन । त्यही भएर सामाजिक र मानसिक विकास पनि कमै थियो । पुरूष र महिलामा धेरै भिन्नता थियो । चिठी लेख्ने, बोल्नेको त परै जाओस केटाले हेरे मात्रै पनि केटीलाई बदनाम गरिहाल्ने संस्कार थियो ।
सोमनाथ सरको अन्तिम बिद्यार्थी सायद हामी नै थियौँ होला । वहाँ २०४३ सालमा क्यान्सरबाट बित्नुभयो । सोमनाथ सर संगै जोडिएर मैले मेरो अनुभवलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरें । भौतिक पूर्वाधारको अभावका कारण धेरै बिद्यार्थी एउटै क्लासमा पढ्नुपर्ने बाध्यता थियो । तर पनि अहिले जस्तो केटाकेटी एउटै बेन्चमा बस्ने चलन थिएन । केटीको एकलाइन र केटाको अर्को लाइन हुन्थ्यो ।
एकदिनको कुरा हो म(अन्जु शर्मा ), रीता शाक्य, दुर्गा आचार्य, सरिता घिमिरे र मेनुका श्रेष्ठ अगाडिबाट दोस्रो बेन्चमा बस्थ्यौं । त्यस्तै अर्कोतिरको लाइन केटाहरूको थियो । एकजना केटासाथि (वहाँको नाम लिन चाहिन) जो फस्ट बेन्चमा बस्नुहुन्थ्यो । वहाँले प्राय हाम्रो बेन्च तिर हेरिरहने गर्नुहुन्थ्यो । अहिलेको भाषामा त साइको भनिदो हो । त्यतिबेला हामी संग न त कुनै भाषिक बिकास थियो न त परिस्थिति बुझ्ने क्षमता नै । वहाँको हेराइले क्लासमा निकै असहज परिस्थिति ल्यायो । केटी साथीहरूले तँलाई हेरेको हुनपर्छ किनकि दुर्गा विवाहित र अरू नेवार वर्गका साथी छन, क्षेत्री ब्राह्मण भएकोले उसबेलाको दिमागमा बर्ग मिलेको घोषणा गरियो होला।
समय उस्तो हो कि ? उमेर त्यस्तो हो कि ? बुद्धि उस्तो हो दैव जानुन । म लगायत संगै बस्ने साथीहरूले उक्त केटा साथीलाई हाम्रो बेन्चमा नहेर्न अनुरोध गर्यौ । वहाँले स्विकार्नु भएन । निकै भनाभन भयो । केही केटा साथीले वहाँ लाई साथ दिनुभयो । यत्तिकैमा दोस्रो पिरियड शुरू भयो सोमनाथ सर कक्षामा पस्नु भयो । वहाँको बिषय पनि रमाइलो । वहाँ झन रमाइलो हाँसीहाँसी क्लास सकाउनुहुन्थ्यो । म वहाँको मन परेको बिद्यार्थी मध्ये पर्थे । प्राय प्रश्न मलाई गर्नुहुन्थ्यो । मिलाए बापत स्याबासी पनि बढी नै भेट्थे । त्यो दिन सोमनाथ सरले पनि महसुस गर्नभयो होला । त्यो साथी जतिबेला पनि हाम्रो बेन्चमा हेरिरहने, वहाँले धेरै उत्पट्याङ्ग कुरा गरेर क्लास हँसाइ रहनुभयो । तर त्यो साथी सायद साइको भएको कारण वहाँले हेर्न छोड्नु भएन। सरले सबै बिद्यार्थीलाई आफूतिर आकर्षण गर्दै पढाइ चालू गर्ने सिलसिलामा मलाई नै प्रश्न सोध्नुभयो । म फस्ट पिरियड देखि नै मुडअफ थिए उत्तर दिन सकिन । सरले मजाकको हिसाबले उडाइदिनुभयो । मलाई बहुत ग्लानी भयो । म कलासमै रून लागे । त्यो देखेर सरले झन उत्पट्याङ्ग कुरा गर्नुभयो म झन रोए । साथीहरू पनि मलाई कम्जोरको उपमा दिदै संझाउन लागे । तर मेरो रूने काम रोकिएन । त्यो दिनभरिका कक्षामा मेरो ध्यान गएन । म घरमा आएर पनि एकान्तमा रोए । भोलिपल्ट ज्वरो आएको बाहनामा म स्कुल गइन । मलाई रिफ्रेस हुन करिब सात दिन लाग्यो ।
हिजोआज मलाई संझेर लाज लागेर आउछ । अनि खुब हाँसो पनि लाग्छ । कहिलेकाही बिद्यार्थीलाई सेयर गर्छु हैन म्याम हजुरले कहानी बनाउनुभयो भन्छन् । “कहानी “मेरो बाल्यकालको “कहानी”।
धन्यवाद
अन्जु शर्मा
खाँदबारी -८
हाल: रातोपुल काठमाडौं